त्यो एक दिन ..पशुपतितिर

tea_at_pashupati

बिहानको छ बजेको थियो । एक घण्टा अघि नै उसको एक मिस्कल आएको रहेछ । तैपनि निन्द्रा उडीसकेपछि पनि सिरक भित्र खुट्टा यता र उता पार्दै गुट्मुट्टी पल्टिरहेको थिएँ म । ढ्यार्र ढ्यार्र फोन भाइब्रेट भयो । मेसेज आयो । एसो हेरेँ । भेट्न मन नभए म कलेज जान्छु, तपाईलाई उठ्न गाह्रो हुन्छ भने । म जुरुक्क उठेँ । हत्तपत्ति रिप्लाई गरिहाले । “म अघिनै उठिसक्या हो । अहिले त जुत्ता लाउँदै छु । अब पाँच मिनेटमै आइपुग्छु , एकछिन कुर न ।”

बल्ल सिरकको तातोपनबाट बाहिर खुट्टा निकाले । महिना माघको थियो , त्यसैले सात आठ नबजी उठ्ने बानी थिएन । अनि एकैचोटी पहिलै मुखमा ब्रस राखेर कपडा खोज्न थालेँ । विध्यार्थी भएकाले त्यसै कपडाहरु जताततै हुन्थे नै, झन् केटाहरु अल्छी हुन्छन् भन्ने कुरा चरितार्थ हुन्थ्यो कोठाको स्थिती देखेर । मैलै कतै पढेको थिएँ “अ क्लिन हाउस इज अ साइन अफ वेस्टेड लाइफ” अर्थात सफा घर भनेको जिन्दगी खेर फाल्नु हो रे, नभए पनि मैले यही बुझेको थिए र अर्को बुझ्न चाहिन पनि । आफुलाई जे बुझ्दा फाइदा हुन्छ त्यही बुझ्न खोजे मैले । अरुको हेराइमा यो कोठा दयनीय थियो रे, कपडा फोहोर अझ फोहोर मात्र हैन कुनै खालको गन्ध आउथ्यो रे, भाडाहरु उस्तै राम्ररी कहिल्यै नधोए जस्ता, अझ माथि माथि त कहिलेकाही माकुराले बनाएको जालो झार्न पनि हप्तौ लाग्थ्यो हामीलाई । हाम्ले पाका भन्ने मान्छेहरु आउथे अनि कसैले सुङगुरको खोर त कसैले गुफाको दर्जा दिएर जान्थे । अझ कुरा के भन्दा यस्ता खिल्ली उडाउनेहरुलाई खासै कोठा देखाउन्नथे म, अनि देखाउनु नै परे पनि सफा गरेरै बल्ल ल्याइन्थ्यो । तैपनि अन्तिममा केइ न केइ देखिहाल्थे अनि गाली खाइहालिन्थ्यो, उहाँहरुको भाषामा भन्नुपर्दा सुध्रने अवसर पाइन्थ्यो । अब त राम्रो हुनुपर्यो नि, सिङ्ग आउन्न जुर्रो आउन्न । मैले सबभन्दा बडी खाने डाएलग यही थियो ।

कपडा सुङ्दै छान्दै थिएँ मैले, आफु ननुहाएको पाचँ सात दिन जस्तो भैसकेको थियो कमसेकम कपडा त राम्रो लगाउनु पर्यो, भन्दै सफा लुगा खोज्दै थिएँ म, एक्कासि सिरक भित्रै बाट दाईले भन्नुभयो पर्फयुम हान न भैहाल्छ नि । मलाई पनि ठीकै लाग्यो । यो पर्फयुम भन्ने चीज पनि गजबको थियो, केटाहरु गन्ध लुकाउन लाउथे अनि केटीहरु गन्ध देखाउन । पहिले बिहानै कलेज हुदाँ कुनै कुनै केटीहरुले लगाउने पर्फयुम को मात्राले धेरै टाउको दुख्तथ्यो मेरो ,पुरै पर्फयुमको तालमै पौडी खेलेर आएको जस्तो । जसरी सार्क माछाले रगतको सुगन्धले खाना थाहा पाउथ्यो, त्यसैगरी मैले पनि नया जमानाका नखरमाउलीहरुको यस्तो आधुनिक गन्ध ठम्याउनमा स्नातक गरेको थिएँ । हतार हतार कपडा लगाइ रेडी भएर, जुत्ता पड्काएर बाहिर निस्के म ।

जाडोको बेला झ्याप्प बाइक स्टार्ट पनि हुन्थेन, दबाउदा दबाउदै हैरान भएको थिएँ । भनिन्छ काममा जति हतार हुन्छ, त्यति नै संसारका सप्पै चीज पछि लाग्छन् तिमीलाइ ढिलो गराउन । हल्काफुल्का ल्याङल्याङ पछि बाइक पनि स्टार्ट भयो अनि लागेँ । अलि अलि गाली खाइने आशा राख्दै कुदिए ।

त्यस्तो सिरीयस गफ हुन थालिसक्या थिएन हाम्रो । प्राय नेटमै च्याट हुन्थ्यो हाम्रो । अनि फ्याट्फुट्ट कल पनि भइरहन्थ्यो , भाइबर, फेसबुक बाट गफ हुने नया जमानाका युवा थियौँ हामी, इन्टरनेटले मजस्ता लाखौँ युवाको सजिलरी गफ गराइदिन थालेको थियो । तर धेरैजसो स्वर सुने विना नै गफ हुने भएकाले खासै कस्तो छ उसको मुड भन्ने थाहा पाउथेन मैले । इमोजी भन्ने इमोसन युज नगर्या त हैन, तर बोली सुने जस्तो हुन्न भन्थे, आफुलाई पनि त्यस्तै लाग्थ्यो ।

एकचोटी अलि पहिला उसले भेट्न बोलाएकी थिइ । कलेजबाट छुटे पछि एक घण्टामा अफिस पुग्नु पर्थ्यो भनेर आधा घण्टाको कोटा मेरा लागि छुट्टयाएकी थिई । पुरानो बानेश्वरको कुमारी कम्प्लेक्स भित्रको चिया पसलमा बसेका थियौँ हामी । आधा घण्टा भित्र गरिने हेल्लो हाइवाला फर्मल गफको कोटा उबेलै सकिएको थियो । पहिलो भेट भनेर अलि इम्प्रेसन जमाउन पर्यो भनेर चकलेट किन्या थिए । त्यही भित्रको डिपार्टमेन्ट स्टोरबाट एउटा चकलेट किनीदिनु पर्ला भनेर सोचेको म लठ्यौरोलाई के थाहा एउटा सस्तो चकलेटलाई डेढशय पर्छ भन्ने, यतिमा त एक बोतल नेपाल आइस आउथ्यो भन्ने सम्झ्दिै तिरेर हिडे । त्यहा बसेको पसलवालाले मलाई अर्को मुर्गा भयो भन्ने नजरले हेर्यो । त्यसपछि उसलाई गाडी चढाइदिने ठाउमा छोडिदिएर म आफ्नो बाटो लागेँ । जानेबेला ऊ फर्कीफर्की मुस्कुराएकी थिइ र म पनि के के न ठुलै काम गरेछु भनेझै मख्ख पर्दै कुदिएँ । यसपालि मलाई उसलाई अलि राम्ररी जान्ने रहर थियो ।

दश मिनेटजस्तोमा म गौशाला चोकमा पुगेँ । अनि उसलाई कल गरेँ । कल काटिदिई । लौ बर्बाद । कलेज तिरै लागिछे मोरी । अब बल्ल जाडो हुन थाल्यो मलाई । बिहानै उठेर यसरी बक्रा हुन्छु भन्ने सोचेको थिएन मैले । छेवैमा पालिएका गाईको मलजलको गन्ध अलिअलि रुघा लाएको नाकले पनि मजैले थाहा पाएको थियो । अब आइहालियो पशुपति दर्शन गरेरै जानुपर्ला भन्ने सोचे । हामी केटाहरुका लागि पशुपति धार्मिक भन्दा पनि पार्क बडी थियो । माथि बसेर चिया खाएर शान्त स्थलमा हराउनु नै मेरा लागि पशुपति जाने मुख्य एजेन्डा हुन्थ्यो । एक्लै होस् या साथीहरुसँग मौन बस्न रुचाउथे म त्यो स्थलमा । मन्दिर हेर्दै टोलाएर होस या कुनै एउटा बाँदर हेरेर र कहिलेकाही त घाटमा ल्याइएका शरीर र तिनसँगै तड्पिरहेका आफन्तजन, मनलाई स्थिर राख्न जे गर्दा नि हुन्थ्यो त्यँहा । हेर्दाहेर्दै हराउँथे म कैलेकाही । टोलाएजस्तै भइथ्यो । बाइक घुमाउन खोज्दै गर्दा बाइक मिररमा एउटा अनुहार हास्दै मतिर आइरहेको देखेँ । अनि बल्ल मुन्टो घुमाएर हेर्दा थाहा पाए, म ठगिएनछु ।

म भन्दा एक मिटरजति पर पुगेर ऊ टक्क अडिइ । मतिर हेरी अनि लजाउदै मेरो खुट्टातिर हेर्दै भनि आधा घण्टा भइसक्यो म आको, कस्तो छुच्चा तपाइ । मैले बुझिन छुच्चाको ढिलो आउनेसगँ के सम्बन्ध छ र खोतल्न खोजिन पनि । अनि हास्ँदै भने अब के गरौ त ।। ऊ अलि रिसाहा आँखा पार्दै मलाइ कमेडी नगर्न इसारा दिदै थिइ, अनि के थ्यो म मौन भइहालेँ । अलिबेर पछि गौशालाको झाइझुइ , पीपपीप लाइ भंग पार्दै उसले भनी “ल भन्नु किन बोलाको ?” मेरो मनमा एउटा हिन्दी फिल्मको गीत उत्तरको रुपमा आयो । घुमेँगे, फिरेँगे, नाचेँगे, गाएँगे, एस करेँगे और क्या, तर फेरी उसले कमेडी नगर्नु भनेकी थिइ । अनि भने कलेज बिदा लिइहाल्यौ, एकैछिन त आनन्दसँग बस । यस्तो रोमान्टिक मौसम छ, जस्ट इन्जोए । अब ऊ अलि शान्त देखिन्थिइ । मैले अब कुरा सुरु गरैँ, कस्तो जाडो छ कतै बसेर चिया खाम न त, त्यतिबेलै भनौला किन बोलाको भनेर । उसले मुन्टो हल्लाई । अनि स्कर्ट लगाकी ऊ लेडिज पारामा दुवै खुट्टा एकैतिर पारेर बसी बाइकमा । अनि बाइक स्टार्ट गरी मोडे पशुपतितिर ।

बाइक मुख्य मन्दिरको गेट अगाडि रोकेर, भित्र हिड्दै थियौँ हामी।

“किन ढिला आको तपाई?”

“बाइक स्टार्ट नै भएन कान्छी, भगवान कसम ।”

“किन के भो र?”

“जाडोमा बाइकपनि म जस्तै हुन्छ, उठ्नै मान्दैन ।”

“जे भनेपनि भयो है, म उल्लुजस्ती देखिन्छु र ।”

“लौ, मलाइ पनि बाले सानैबाट उल्लु भनिरहन्थे, तिम्ला भेट्न पो रहेछ ।”

“अँ, है । कुराले त नसकिने तपाईलाई ।”

“सकिन्छ, सकिन्छ , सिधा कुरा गरेसी सकिन्छ।”

“अनि के, यत्रो बेर के बाङगो कुरा गरे मैले ।”

“ल ल, उ त्याँ माथि जाँऊ, चिया मिठो बनाउछ ।”

“कति जना सगँ आइसक्या होला ।”

“आइयो , अब एक्लै पनि कोइ यहाँ सम्म चिया खान आउछ होला त ।”

“चिया मात्रै त पक्कै हैन होला खाको ।”

“अ साच्ची, ऊ त्या जेरीपुरी पनि खान जान्थ्यौ ।”

“खाने काम मात्रै ।”

“हैन, काँ त्यति मात्र , कैलेकाँही त आरती पनि गाइन्थ्यो , मजाले ।”

अब उसलाई इरिटेट हुन थाल्या थियो । पशुपतिको सिढी चढेर माथि नै पुगिसक्या थियौ । माथि शिवालयतिर जाने सोच थिएन मेरो, र सायद उसको पनि । अनि बेन्चहरु भको ठाउँतिर जान लागेको, ऊ पनि केही नभनी त्यतै आई । मैले पनि माथि चियापसलमा गएर दुईवटा चिया मगाएँ ।

अनि पसलको दाहिनेतिर भएको राउण्ड टेबलमा बस्यौँ हामी । म एले फेरि चिया लिन जानुपर्छ भनेर पसल नजिकैको कुर्सीमा बसेको थिएँ अनि ऊ मेरो अगाडि । उसको ठीक पछाडि थियो पशुपति मन्दिर, मैले भने तिमी त आइरहन्छौ होला नि यहाँ, काठमाण्डुवासी । उसले भनी “अँ” । मजस्तै सायद अरु केटाहरुलाई छिट्टै रिस उठाउँदो हो यो अँ ले । यो भन्दा अलि लामो उत्तरको आश गर्याथेँ मैले । एकछिन एक्लै बोलेजस्तो लाग्यो । एकछिन बोल्न मन भएन । अनि एकछिन पशुपति मन्दिरतिर हेर्न थालेँ ।

अलिबेर कोइ बोलेन । ऊ बेलाबेला मतिर फर्किरहेकी थिइ तर बोल्न खोजिन । म पनि अलि निहु खोज्ने मुडमा थिएँ । दुइतीन चोटि फर्किएपछि बल्ल भनी “चिया पाकेन”

“पाकेपछि बोलाइहाल्छ नि ।” ऊ मुसुक्क हाँसी । म नहाँस्न खोजीराथेँ । अझै ध्यान दिएर अर्को पट्टि हेर्न थालेँ । अब भाउ मेरो बढ्या थियो । अनि एकछिन मतिर फर्कीरही । त्यसपछि बल्ल भनी “ पहिला–पहिला स्कूलबाट घुम्न आइरहन्थ्यौ, तीजमा पनि मम्मीसँग आइयो, कति भन्नु खै ।”

“ओ भाइ चिया पाक्यो” । उताबाट चियापसले दाइको आवाजले झसङ्ग बनायो । एकछिन उसलाई हेरे । उसले मुन्टो हल्लाउदै मलाई चिया ल्याउन इसारा गरी । म पनि लुरुलुरु गएँ । राम्रो ठाउँको राम्रै मुल्य तिरेर म हिडेँ । उसलाई हेरेर फेरि गएर अनि दुईवटा बिस्कुट लिएर आएँ । उसलाई एउटा बिस्कुट दिएँ र एउटा आफै खोल्दै थिए, ऊ भन्न थाली – “म खान्न ।”

“केही खाएर आयौ र यति बिहानै ?”

“केही छैन । मलाई भोक लागेको छैन ।”

“ए ! डाईटिङमा छ्यौ ।”

उसले मुन्टो घुमाई , फिलिममा जस्तो र कर्के आखाँ पार्दै भनी –“ म मोटी देखिन्छु तपाइलाई ?”

बडो घुमाउरो प्रश्न थियो यो । मेरै आँखाको खराबीजस्तो, मलाई उसको शब्दको दलदलमा फस्नु थिएन । “छैनौ , मोटी कसले भन्यो र ?”

“अनि किन डाइटिङ गर्ने भनेको त ?”

“ए तेस्तो हैन । आजभोलि जिरो फिगर भन्छन् नि , त्यै भएर सोधेको ।”

“ओहो ! बडा चासो छ त फिगरमा ।”

“अब खाली टि.भी.मा त्यही मात्रै देखाउछ अनि चासो नभएपनि सुन्दासुन्दा थाहा भैहाल्छ ।”

“खोजीखोजी त्यस्तै च्यानल हेरेपछि त थाहा नहुने कुरै छैन ।”

अनि हास्दै भने – “अब यो उमेरमा आस्था र सस्ंकार हेर्ने कुरा भएन ।”

बल्ल मुस्कुराइ र चिया सुरुप्प पार्दै भन्न थाली । “है धर्ममा लाग्न बुडै हुनुपर्छ भन्ने काँही लेख्या छ र ?”

“हैन, हामीजस्ता युवाले पनि सस्ंकार र आस्थातिर लाइयो भने त भीएचवन, ट्रान्स र एमटीभी जस्ता च्यानल त बन्द हुने भैगो नि ।”

“ए तेस्तो, अनि ती च्यानलवालाहरुको ठेक्का ल्या हो र तपैले ।”

“त्यस्तो त हैन, तर तिनीहरुको जहान, बालबच्चा सम्झेर आफुलाई सम्हालेर भएपनि हेर्ने गरेको छु ।”

“ह्या ! गफाडी खालि जे पायो तेँही कुरा बाहेक केही आउदैन है !”

“ल ठीकै छ नी त, त्यसो भए तिमी नै निकाल न त कामको कुरा । त्यो पनि गरेर हेरौँ न, कुनमा बडी रमाईलो हुदोँ रैछ ।”

“आउदैन मलाई त्यस्तो कुरा गर्न । सुन्नुस न, तपाईको फेबरेट हिरो को हो ?” म मनमनै हासेँ । अघिको जे पायो त्यही कुरा रे , यो कुराले त पक्कै मलाई नोबेल पुरस्कार नै जिताउला ।

“मलाई टम ह्याङ्गस मन पर्छ ।”

“कुन चाहिँ हो यो टम भन्ने ?”

“कास्ट अवेको हिरो क्या”

“ए अँ , त्यो त हिरो जस्तो पनि छैन।”

“त्यसो भए तिमीलाई को मन पर्छ त”

“मलाई त लियोनादेि डिक्याप्रियो मन पर्छ । अनि त्यो नोटबुकको हिरो पनि ।”

“अँ , रायन घोसलिङ ।”

“कस्तो राम्रो छ है, त्यो ।”

“अँ, त्यसैको ड्राइभ भन्ने फिल्म हेर्या, राम्रै लायो”

“हो नि, मलाई त क्या ह्याण्सम लाग्छ ।”

“छ नि, सिक्स प्याक नै छ नि मुर्दारको ।”

“तपाई र म, फिल्म हेर्न जाउ है।।”

“ल, कुन लाइराछ र?”

“रणवीर कपुरको रोय अब लाग्ने हो ।”

“तिम्लाई मन पर्छ रणवीर ?”

“राम्रै छ त, बडी, हाइट, फेस सब मिलेको छ ।”

“अनि एक्टिङ?”

“पहिला त चक्लेटी मात्र लाग्थ्यो , अहिले चाहिँ मन पर्छ । रकस्टार र बर्फी हेरेपछि ।” यो कुरा त मनकै गरी है । फिल्मचाहि उस्तै उस्तै मन पर्ला जस्तो छ ।

“ल हुन्छ, जाउँला नि त ।”

“अनि हिरोइनमा नि ?”

“मनपर्ने ।”

“अँ”

“किएरा नाइट्ली मन पर्छ ।”

“अनि बलिउडमा नि?”

“कगंना , प्रियङ्का ।”

“मलाई त दिपीका मन पर्छ ।”

“रणवीरको गर्लफ्रेण्ड भएर त हैन नि ।”

“सप्पै था रैछ त यो मान्छेलाई ।”

“अब सधै चर्चामा आउनेको त था भैहाल्छ नि ।”

“लौ लौ , बडी क्या राम्रो छ है त्यस्को ।”

“अँ , मलाई नि फिगर त त्यस्कै मन पर्छ ।” उसले नजर घुमाइ र घुराई पाराले हेरी । म मुस्काएँ ।

“थोरै खाऊ न त ।” बिस्कुटको प्याकेट खोलेर , प्याकेट माथि नै बिस्कुट राखेर ऊतिर सार्दै भने । अहिले चाहि केही नभनी, एक पिस उठाई , चियामा डुबाई र अलिकति मुखमा हाली ।

म भन्न थाले ।। “तिम्रो जन्म काठमान्डुमै भएको हो ।।”

“अँ , यही थापाथली हस्पिटलमा ।”

“तिम्रो दिमाग कत्तिको टाठो छ नि । कत्ति सम्झन सक्छ्यौ ।”

“अलि अलि , किन नि ।”

“ल भन त , तिमी जन्मिदा नर्सले कस्तो लुगा लगाएकी थिई ।”

“त्यति सानोको पनि कसैले सम्झिन्छ त ।”

“म भन्दिम ।”

“तपैला कसरी थाहा भयो फेरि ?”

“सेतो होला है ।”

एकछिन सोची र मुस्काउदै भनी “ है, हो नि , म पनि पुरै सिरियस भएर सोच्न थालेको ।”

म पनि मुस्कुराउदै चियाको चुस्की लिन थालेँ ।

इतिश्रि

Leave a Reply

Your email address will not be published. Required fields are marked *